
विराटनगर । विराटनगरमा संविधान दिवसको अवसरमा रोड रेस र ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोग तथा समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो ।
बोर्डले असोज १ र २ गते ब्याडमिन्टन प्रतियोगिता र असोज २ गते रोड रेस आयोजना गर्ने तयारी गरेको छ । ब्याडमिन्टन प्रतियोगितामा कोशी प्रदेशभित्रका जनप्रतिनिधि, निजामती कर्मचारी, शिक्षक, सुरक्षा निकायलगायतको सहभागिता रहने बोर्डका सदस्य सचिव विप्लव घोषले बताए ।
महिला र पुरुष दुई विधामा प्रतिस्पर्धा गराइने प्रतियोगिताको प्रथम टिमलाई २५ हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १५ हजार नगदसहित सम्मान-पत्र प्रदान गरिने छ ।
ब्याडमिन्टन प्रतियोगिताका खेलहरू सहिद रंगशालास्थित कभर्ड हलमा हुने घोषले जानकारी दिए । रोड रेस अन्तर्गत ५० वर्ष उमेर भन्दामाथिका लागि २ किलोमिटर र १५ वर्ष उमेर भन्दा मुनिका लागि ३ किलोमिटर तय गरिएको छ । दुई विधामा नै आयोजना हुने रेसका विजेतालाई पनि सोही पुरस्कार निर्धारण गरिएको छ ।

संगालोखबर 














