संगालोखबर

विराटनगर । विराटनगरमा वृद्धलाई ठक्कर दिएर अस्पताल लैजान्छु भनेर अन्यत्र फालेर भागेका सफारी चालकमाथि सवारी ज्यान मुद्दा दर्ता भएको छ । सफारी चालक मोरङको कटहरी गाउँपालिका-२ का ५५ वर्षीय अर्जुन भगतमाथि सवारी ज्यान मुद्दा दर्ता भएको हो ।

सफारी चालकमाथि सवारी ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

भदौ २८ गते (आइतबार) बिहान विराटनगर-९ ठाकुरबाडी रोडमा विराटनगर-८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई सफारीले ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न सफारीका चालक भगतले गम्भीर घाइते वृद्धलाई उपचारका लागि अस्पताल लैजान्छु भनेर सोही सफारीमा राखेर लगेका थिए ।

तर विराटनगर-७ मालपोत अगाडिको सडकमा फालेर हिँडेको अवस्थामा वृद्धको शव फेला परेको थियो । वृद्धलाई फालेर प्रदेश १-०२-००४ ह ९६७५ नम्बरको सफारीका चालक फरार भएका थिए । खोजी गर्ने क्रममा चालकलाई प्रहरीले केही समयपछि उनकै घरबाट नियन्त्रणमा लिएको थियो ।

घटनास्थलको भिडियोमा दुर्घटनामा संलग्न सफारी चालकले सोही सफारीमा राखेर वृद्धलाई लगेको स्पष्ट देखिएको छ । प्रहरी श्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सफारी चालकले घटनामा आफू संलग्न नभएको जिकिर गर्दै आएका छन् ।

‘सफारी चालकले मलाई थाहा छैन, मैले फालेको छैन भन्ने जिकिर गर्दै आएका छन्’, प्रहरी श्रोतले भन्यो’, भिडियोमा उनैले सफारीमा राखेर लगेको स्पष्ट देखिन्छ । अनुसन्धान जारी छ ।’ उनले वृद्धको मृत्यु भइसकेपछि त्यहाँ लगेर फाले वा घाइते अवस्थामै छाडे भन्ने खुल्न बाँकी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!