
विराटनगर । नेपाली काँग्रेसका कोशी प्रदेश सांसद भीम पराजुलीले शेरबहादुर देउवा पक्ष छाडेका छन् । सामाजिक सञ्जालमामार्फत पराजुलीले देउवा पक्ष छाडेर पार्टी सभापति गगनकुमार थापाको पक्षमा उभिने घोषणा गरेका हुन् ।
इतर पक्षले पराजुलीलाई समानान्तर अधिवेशनका लागि भदौ २७ गते जिम्मेवारी दिएको थियो । तर सिङ्गो काँग्रेसलाई अगाडि बढाउन सभापति थापाको नेतृत्वमा समर्पित बनेर अघि बढ्नुको विकल्प नभएको उनले बताएका छन् ।
‘चारतारे झण्डा र रूख जहाँ हुन्छ, त्यो मेरो र हाम्रो स्वाभिमानसँग जोडिएको छ’, उनले लेखेका छन्, ‘हामी लोकतन्त्रवादीको रगत र पसिना यसैमा समर्पित भएर बगेको छ ।’
देश कमजोर रहेको अवस्थालाई मध्यनजर गर्दै लोकतन्त्र र प्रजातन्त्रको जगलाई बलियो बनाउन तथा जनचाहना अनुरूप अगाडि बढ्नु आजको आवश्यकता भएको उनको भनाइ छ ।
‘यसर्थ, सिङ्गो नेपाली काँग्रेसलाई अगाडि बढाउन सभापति गगन थापाको नेतृत्वमा समर्पित बनेर अगाडि बढ्नुको विकल्प छैन’, उनले लेखेका छन्, ‘म सबै काँग्रेसका अग्रज, सम्मानित नेतागणहरूलाई अभिभावकत्व ग्रहण गर्न अनुरोध गर्दछु । यस्तै कार्यकर्ता र शुभेच्छुकहरूलाई पार्टी एकतामा जोडिन आग्रह गर्दछु ।’
पराजुली यसअघि कृष्णप्रसाद सिटौला निकट मानिँदै आएका थिए । तर १४ औं महाधिवेशनपछि उनी सिटौलासँगै देउवा प्यानलमा पुगेका थिए । विराटनगर महानगरपालिकाका पूर्वमेयर पराजुली कोशी प्रदेश सरकारमा वन, पर्यटन तथा वातावरण मन्त्रीसमेत भइसकेका छन् ।

संगालोखबर 














