संगालोखबर


विराटनगर । पतिको दीर्घायुको कामना गर्दै श्रीमती तीजको निराहार व्रतमा बसेकी थिइन् । व्रत बसेकी पत्नीलाई पानी खुवाएर व्रत खुलाउने चाहनासहित घरतर्फ फर्कँदै थिए, सशस्त्र प्रहरीका सहायक हबल्दार सुदीप खड्का ।

तर, पत्नीलाई पानी खुवाउने उनको चाहना सदाका लागि बाटोमा नै अन्त्य भयो । मोरङको बूढीगंगा गाउँपालिका-४ का ३६ वर्षीय सुदीप सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) स्वर्णपट्टी सप्तरीमा कार्यरत थिए ।

बुढीगंगा-४ का वडाध्यक्ष शशिकान्त चौधरीका अनुसार व्रत बसेकी पत्नीलाई पानी खुवाउन आउँदै गर्दा खड्का दुर्घटनामा परेका हुन् । आफन्तको भनाइ उदृत गर्दै अध्यक्ष चौधरीले दिएको जानकारी अनुसार खड्का आज कार्यस्थल फर्कने तयारी स्वरुप घर आउँदै थिए ।

तर, बाटो काट्ने क्रममा बूढीगंगा-४ स्थित नेमुवा चोकमा वीरगन्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले उनी सवार प्र १-०४-००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका खड्कालाई तत्कालै उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । प्रहरीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो ।

वडाध्यक्ष चौधरीका अनुसार उनको निधनको खबरले गाउँ नै शोकमा डुबेको छ । प्रहरीले बस चालक सुनसरीको रामधुनी-५ का ४८ वर्षीय राजन दाहाललाई नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!