
विराटनगर । अब एटीएमबाट एक सय रुपैयाँको नोट पनि उपलब्ध हुने भएको छ । बैंक तथा वित्तीय संस्थाका एटीएमबाट एक सय रुपैयाँ दरका नोट पाइने भएको हो ।
नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता तथा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सय रुपैयाँका नोट पनि वितरण गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । यसले बैंकहरूमा हुने भीडभाड कम गर्ने विश्वास लिइएको छ ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्र लेख्दै यस्तो व्यवस्था मिलाउन भनेको हो । हाल बैंक तथा वित्तीय संस्थाहरूले एटीएम मेसिनबाट १ हजार र ५ सय रुपैयाँ दरका नोटहरू मात्र दिँदै आएका छन् ।
जसका कारण साना दरका नोट झिक्न ग्राहकहरू बैंकको काउन्टरमै पुग्नुपर्ने बाध्यता छ । केही बैंकहरूसँग प्राविधिक तयारीबारे बुझ्दा एटीएमबाट सय रुपैयाँका नोट वितरण गर्न सम्भव देखिएको राष्ट्र बैंकले जनाएको छ ।

संगालोखबर 














