संगालोखबर


धनकुटा । धनकुटा नगरपालिकाले सडक छेउको खाली जग्गा सदुपयोग गर्न बेसार खेती बिस्तार गरेको छ । स्थानीय किसान र सामुदायिक वन समूहलाई कृषि खेतीतर्फ प्रोत्साहित गर्ने तथा खाली जग्गा सदुपयोग गर्ने उद्देश्यले नगरपालिका भित्र सडक छेउमा बेसार खेती बिस्तार गरिएको हो ।

यसले सडक क्षेत्रलाई हरियाली, स्वच्छ र आकर्षक बनाउन भूमिका खेल्ने नगरपालिकाको विश्वास छ । कोशी राजमार्गअन्तर्गत धनकुटा नगरमा पर्ने सरस्वती चोक-सल्लेरी सडक खण्डसहित करिब सात रोपनी क्षेत्रफलमा बेसार लगाइएको हो ।

नगरभित्रका भित्री सडक छेउछाउका खाली ठाउँमासमेत बेसार रोपिएको धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए । सडक किनार र अन्य खाली जमिनको सदुपयोग गर्ने उद्देश्यले बेसार खेती विस्तार गरिएको उनले बताए ।

पछिल्लो समय बाँदर आतङ्कले पीडित बनेका किसानलाई यसले बेसार खेतीतर्फ प्रोत्साहन मिल्ने नगरपालिकाको विश्वास छ । सामुदायिक वन र किसान समूहलाई प्रेरित गर्ने उद्देश्यले नमुनाका रूपमा बेसार खेती सुरु गरिएको खनालले बताए ।

अहिले सुरु गरिएको बेसार खेतीबाट उत्पादन भएको बिउ आगामी दिनमा नगरभित्रका सरकारी, ऐलानी तथा प्रति जग्गामा विस्तार गर्न प्रयोग गरिने जनाइएको छ । उत्पादित बिउ बेसार खेती विस्तार गर्न चाहने किसान, कृषक समूह तथा सामुदायिक वनलाई वितरण गरिने छ ।

नगरपालिकाले बेसार खेती विस्तारका लागि गत आर्थिक वर्षमा प्रतिकिलो १ सय रुपैयाँका दरले १ सय किलो बेसारको बिउ खरिद गरेको थियो । नगरपालिकाको स्वरोजगार कार्यक्रममा आबद्ध व्यक्तिहरूलाई बेसारको गोडमेल तथा हेरचाहमा परिचालन गरिएको छ ।

स्वरोजगार कार्यक्रममा आबद्ध व्यक्तिहरूले बेसारको गोडमेलसँगै सडक क्षेत्रको सरसफाइ, फलफूलका बिरुवा रोप्ने तथा छाँटकाँट गर्ने लगायतका काम गर्दै आएका छन् । सडक किनारबाट सुरु गरिएको बेसार खेतीलाई आगामी दिनमा थप क्षेत्रमा विस्तार गर्ने योजना बनाएको छ ।

धनकुटा नगरपालिकाको यो पहलले सडक क्षेत्रको खाली जमिनलाई उत्पादनसँग जोड्नुका साथै हरियाली र सौन्दर्य प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!