संगालोखबर
फाइल तस्बिर

काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर शिव–पार्वतीको पूजाआराधना गरी मनाइँदैछ । तीजका अवसरमा पशुपतिनाथसहित देशभरका महादेव मन्दिरमा बिहानैदेखि व्रतालु महिलाहरूको भिड लागेको छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी भगवान् शिव र पार्वतीको पूजा तथा उपासना गरेमा सुख, शान्ति, पारिवारिक कल्याण र मनोकामना पूरा हुने धार्मिक विश्वासका साथ याे पर्व मनाइने गरिएकाे हाे ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउने उद्देश्यले गौरीघाटमा कठोर तपस्या गरेको र साथीहरूले हरण गरी लुकाएको स्थानमा निराहार व्रत बसेर महादेवलाई प्राप्त गरेको पौराणिक कथासँग तीजको सम्बन्ध जोडिएको छ ।

तीजको व्रत निराहार, जलाहार र फलाहार गरी तीन प्रकारले लिन सकिने धर्मशास्त्रविद्हरू बताउँछन् । स्वास्थ्य अवस्था कमजोर भएका वा निराहार बस्न नसक्नेले पानी, फलफूल तथा अन्य सात्त्विक आहार लिएर पनि व्रत बस्न सक्ने उनीहरूको भनाइ छ ।

तीजको व्रत श्रीमानको दीर्घायुका लागि मात्र बसिने भन्ने बुझाइ पनि पूर्ण नभएको धर्मशास्त्रविद्हरूको भनाइ छ । अटल सौभाग्य, सन्तान प्राप्ति तथा अविवाहित महिला र पुरुषले असल जीवनसाथी प्राप्तिको कामनासमेत तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको उनीहरू बताउँछन् । परिवारको सुख, शान्ति र कल्याणका लागि व्रतको महत्व रहेको धार्मिक मान्यता छ ।

तीज पर्वको औपचारिक सुरुवात दर खाने परम्पराबाट हुन्छ । तीजको व्रत बस्नेहरूले अघिल्लो दिन विशेष परिकार बनाएर दर खाने गर्छन् । विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा छ । शास्त्रीय रूपमा भने भाद्र शुक्ल द्वितीयाको राति दर खाने समय तोकिएको बताइन्छ ।

पहिले हिन्दू महिलाले मात्र मनाउने पर्वका रूपमा रहेको तीज पछिल्लो समय धर्म र समुदायको सीमाभन्दा बाहिरसमेत विस्तार हुँदै गएको छ । अहिले विभिन्न समुदायका महिलाले समेत तीजलाई सांस्कृतिक पर्वका रूपमा मनाउन थालेका छन् ।

तीज पर्व तृतीयाको हरितालिका व्रतपछि चौँथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि समापन हुन्छ । यसरी धार्मिक आस्था, पारिवारिक सम्बन्ध, महिला अभिव्यक्ति र सामाजिक संस्कृतिसँग जोडिएको तीज नेपाली समाजमा महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!