
विराटनगर । आज बिहान विराटनगरमा पानी परिरहेको थियो । विराटनगर-९ ठाकुरबाडी रोडमा छाता ओडेर हिँडिरहेका वृद्धलाई सिटी सफारीले ठक्कर दिन्छ । ठक्कर दिएपछि सफारी पनि पल्टिन्छ ।
बिहान झिसमिस नै भएका कारण त्यहाँ जम्मा भएका केही मान्छेले सफारीलाई उठाउँछन् । चालकले उपचारमा लैजानेभन्दै वृद्धलाई सफारीमा राखेर कोशी अस्पतालतर्फ लाग्छन् । तर उनले वृद्धलाई विराटनगर-७ मालपोत कार्यालय अगाडि सडकमा फालेर भाग्छन् ।
बिहान ६ः३० बजेतिर स्थानीयले शव फेला परेको भनेर प्रहरीलाई खबर गर्छन् । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दा घटनाको वास्तविकता पत्ता लागेको थियो । दुर्घटनामा विराटनगर-८ का ८२ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।
प्रदेश १-०२-००४ ह ९६७५ नम्बरको सिटी सफारीले ठक्कर दिएपछि चालकले वृद्धलाई उपचारमा लैजान्छु भनेर त्यहाँ ल्याएर छाडेको पत्ता लगाएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
घटनामा संलग्न सफारी चालक मोरङको कटहरी गाउँपालिका-२ का ५५ वर्षीय अर्जुन भगतलाई बिहान ८ः३० बजे घरबाट नियन्त्रणमा लिइएको उनले बताए । प्रहरीका अनुसार सफारी चालक भगत वृद्धलाई सडकमा फालेर भागेका थिए ।
पक्राउ परेका चालकलाई मोरङ प्रहरीको हिरासतमा राखिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 














