सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-८ र १० को सिमानामा पर्ने मुगा खोलामा सञ्चालित भुल्के खानेपानी आयोजनाको काम अलपत्र परेको छ ।आन्तरिक विवादका कारण भुल्के मुहानदेखि पाख्रीबास बजारसम्म संचालित लिफ्टिङ आयोजनाको काम लामो समयदेखि अलपत्र परेको हो ।

खानेपानी आयोजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा २८ करोड ५८ लाख ७२ हजार विनियोजित बजेटबाट १५ करोडमा टेन्डर प्रक्रिया स्वीकृति भएर काम अघि बढेको थियो ।

तर पुस्तौँदेखि खेतमा सिँचाइ गर्दै आएको भुल्के मुहानको पानी लैजान स्थानीयले अवरोध गरेपछि आयोजनाको काम अलपत्र परेको हो । स्थानीय उपभोक्ताले मुहान सम्भाव्यता अध्ययन गर्नेक्रममा पनि विरोध जनाउँदै उच्च अदालत विराटनगरको धनकुटा इजलासमा मुद्दा दर्ता गरेका थिए ।

अदालतले स्थानीय उपभोक्तासँग समन्वय गरेर खानेपानी योजना सञ्चालन गर्न आदेश दिएको थियो । प्रयोग गर्दै आएको मुहान सुकाएर पानी लैजान नपाउने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । ३ सय ७५ कृषकले भुल्के मुहानको पानीले खेतमा सिँचाइ गर्दै आएका छन् ।

नगरले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत लिफ्ट सिस्टमबाट खानेपानी आयोजना सञ्चालन गरेको हो । ढल व्यवस्थापन आयोजना धनकुटाका इन्जिनियर संजित पण्डितका अनुसार आयोजना सञ्चालनका लागि आवश्यक सम्पूर्ण संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बताए ।

‘आवश्यक भौतिक संरचना निर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ’, उनले भने, ‘सुरुमा केही पनि विवाद थिएन । योजना सञ्चालनका लागि आवश्यक संरचना निर्माण गरियो । तर पछि स्थानीयले पानीको मुहान नदिने भनेपछि योजना काम अलपत्र परेको छ ।’

पाख्रीबास नगरपालिकालाई समस्या सुल्झाउनका लागि बारम्बार आग्रह गरिएपनि सुनुवाइ नभएको उनको भनाइ छ । तीन वर्षदेखि समस्या समाधान नहुँदा ठेक्का तोड्ने कि योजना सञ्चालन गर्ने भनेर विभागमा पत्र पठाएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय धनकुटाले जनाएको छ ।

गतसाल योजना सञ्चालनका लागि ५० लाख रुपैयाँ रकम विनियोजन भएको थियो । तर काम अघि बढ्न नसक्दा उक्त रकम पनि फ्रिज भएको कार्यालयको भनाइ छ । योजना सञ्चालनका लागि आवश्यक पर्ने संरचना आरविटी, पिविटी, ट्याङ्की च्याम्बर, पाइपलाइन विस्तार र विद्युत लाइन विस्तार लगायतको काम सकिएको छ ।

उपभोक्तालाई पानी पुर्याउन २ देखि १० नम्बर वडासम्म करिब ६०.४८ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । अब मुहानमा विद्युत जडान लगायत करिब १० प्रतिशत काम सक्न मात्रै बाँकी छ । समस्या समाधान भएमा आयोजनाको काम चाँडै सकिने इन्जिनियर पण्डितले जानकारी दिए ।

पालिका र सरोकारवालाहरूले स्थानीयसँग पटक-पटक छलफलका गर्दासमेत समस्या समाधान हुन सकेको छैन । करिब दुई वर्षदेखि पाइपलाइन विस्तार भएपनि पानी नआउँदा खोलाको पानी पिउन बाध्य भएको स्थानीय पोषणबहादुर थापाले बताए ।

‘मुहानको शुद्ध पिउने पानीको आस गर्दागर्दै दुई वर्ष बित्यो’, उनले भने, ‘योजना सञ्चालन भएमा पाख्रीबास-२ देखि १० नम्बर वडासम्मका करिब १ हजार ७१२ घर परिवार लाभान्वित हुन्छन् ।’ आयोजना सम्पन्न भएमा पाख्रीबासका करिब ८० प्रतिशत नागरिकले स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!