संगालोखबर


काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व कुशे औँसी आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरी मनाइँदैछ ।

भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभर धार्मिक तथा पितृकार्यमा आवश्यक पर्ने पवित्र कुश घरमा भित्र्याउनेदेखि जीवित बुवाको सम्मान र दिवंगत पिताप्रति श्रद्धा व्यक्त गर्ने चलन छ ।

कुशे औँसीका दिन विशेष विधिपूर्वक पूजा गरेर उखेलिएको कुश घरमा राखेमा वर्षभर हुने देवकार्य, पितृकार्य तथा धार्मिक अनुष्ठानमा प्रयोग गर्न सकिने धार्मिक मान्यता छ ।

सनातन परम्परामा कुशलाई अत्यन्त पवित्र वनस्पतिका रूपमा लिइन्छ । धार्मिक अनुष्ठान, श्राद्ध, तर्पण, संकल्पलगायतका कर्ममा यसको प्रयोग हुँदै आएको छ । कुशसँगै तुलसी, पीपल र शालिग्रामलाई पनि भगवान् विष्णुसँग सम्बन्धित पवित्र प्रतीकका रूपमा मान्ने परम्परा छ । धार्मिक विश्वासअनुसार सृष्टिकर्ता ब्रह्माले विवेकशील प्राणीसँगै कुशको समेत उत्पत्ति गरेको मानिन्छ ।

कुशे औँसीलाई बुवाको मुख हेर्ने दिनका रूपमा समेत मनाइन्छ । यस दिन छोराछोरीले आफ्ना बुवालाई मनपर्ने मिठाइ, फलफूल तथा विभिन्न परिकार खुवाएर सम्मान र स्नेह प्रकट गर्छन् । टाढा रहेका सन्तानहरू घर फर्किएर बुवासँग भेटघाट गर्ने भएकाले यो दिन पारिवारिक पुनर्मिलनको अवसरसमेत बन्ने गरेको छ ।

बुवा दिवंगत भइसकेकाहरूले भने धार्मिक तथा पवित्रस्थलमा पुगेर पितृको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गर्ने गर्छन् । कतिपयले पुरोहितमार्फत विधिपूर्वक पितृकार्य सम्पन्न गरी सिदा तथा अन्य सामग्री दान गर्ने परम्परा पनि छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!