
विराटनगर । मोरङको जहदा गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनबीच गाउँपालिकावासीलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा हस्ताक्षर भएपछि अब जहदा गाउँपालिकाका नागरिकले जीवन विकास अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशत सम्म छुट पाउने भएका हुन् ।
सोमबार भएको समझदारीपत्रमा जीवन विकास सामुदायिक अस्पतालका तर्फबाट प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र जहदा गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार जहदा गाउँपालिकाका बासिन्दा, स्थानीय तह अन्तर्गतका शिक्षक तथा कर्मचारी, निर्वाचित जनप्रतिनिधि र सम्झौतामा तोकिएका उनीहरूका परिवारका सदस्यले अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका हुन् ।
ओपीडी, आकस्मिक सेवा, बेड, प्रयोगशाला, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, डेन्टल, डेन्टल ल्याब, सीटी स्क्यान तथा यमआरआई लगायतका सेवामा तोकिएको प्रावधानअनुसार छुट हुनेछ ।
अस्पताल र गाउँपालिकाबीच भएको यो सहकार्यले जहदा गाउँपालिका क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि लाग्ने खर्चमा राहत पुग्नुका साथै विशेषज्ञ तथा आधुनिक स्वास्थ्य सेवामा उनीहरूको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।
स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउने उद्देश्यले गरिएको यस समझदारीलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण सहकार्यका रूपमा लिइएको छ ।
समझदारी पत्रको अवधि भदौ २२ गतेदेखि लागू भएर एक वर्ष रहने छ । आवश्यकता र आपसी सहमतिका आधारमा दुवै पक्षले सम्झौताको अवधि नवीकरण वा विस्तार गर्न सक्नेछन् ।
मोरङको कटहरी गाउँपालिका-२ हल्दीबारीस्थित २ सय शय्याको जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न विशेषज्ञ ओपीडी, आकस्मिक सेवा, आइपीडी, आईसीयू, एनआईसीयू, एचडीसीयू तथा सीसीयू लगायतका स्वास्थ्य सेवा सञ्चालनमा छन् ।
अस्पतालमा अत्याधुनिक अपरेशन थिएटरमार्फत विभिन्न प्रकारका शल्यक्रिया तथा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ । यस सहकार्यबाट जहदा गाउँपालिकाका नागरिकले विशेषज्ञ परामर्शदेखि आधुनिक निदानात्मक सेवा तथा उपचारसम्मका स्वास्थ्य सेवा थप सहज र सहुलियतपूर्ण रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्थानीय नागरिकलाई उपचारमा आर्थिक राहत प्रदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले दुई संस्थाबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विश्वास छ ।

संगालोखबर 














