संगालोखबर
साङ्केतिक तस्बिर : एआईको सहयोगमा

विराटनगर । माेरङकाे रंगेलीबाट ट्रयाक्टरको ब्याट्री र पानी तान्ने मेशिन चोरी गरेको आरोपमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका-६ लभ टोली बस्ने २६ वर्षीय संजय मण्डल छन् ।

आइतबार रंगेली नगरपालिका–६ थाना टोल बस्ने प्रमोद कुमार साहको घरअगाडि राखेको मे १ त ३०१२ नम्बरको ट्रयाक्टरबाट एक थान ब्याट्री र सोही वडाको संसारी मन्दिरभित्र जडान गरिएको दुई थान पानी तान्ने मेशिन चोरी भएको थियो ।

घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी बेतौनाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा धनपालथान गाउँपालिका-३ बेतौना चौकबाट मण्डललाई नियन्त्रणमा लिएको हो । सेतो बोरामा चोरीका सामान काँधमा बोकेर हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको माेरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनको साथबाट १०० एम्पियरको ट्रयाक्टरको ब्याट्री एक थान र सिन्धु नाम लेखिएको १ इन्चको पानी तान्ने मेशिन दुई थान बरामद गरिएको छ । पक्राउ परेका मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान सुरू गरिएकाे छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!