संगालोखबर


विराटनगर । सत्ता साझेदार दलहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच समझदारी कायम गर्दै कोशी प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।

भदौ १ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन भएपश्चात दुई दलीय कार्यदलले तयार पारेको साझा कार्यक्रम आज सार्वजनिक गरिएको हो ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल कोशी प्रदेशका नेता इन्द्रबहादुर आङ्बोको नेतृत्वमा बनेको कार्यदलले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ ।

२८ बुँदे न्यूनतम साझा कार्यक्रममा प्रदेशको अर्थतन्त्र विस्तार र आयआर्जन वृद्धिका लागि स्थानीय रक्सी र गाँजा खेतीको प्रवर्द्धन गर्न कानुनी व्यवस्था गरिने लगायतलाई प्राथमिकता दिइएको छ ।

जनस्तरबाट व्यापक माग आएको विषयलाई मध्यनजर गर्दै प्रचलित कानुनको दायराभित्र रहेर यससम्बन्धी कानुनी प्रबन्ध मिलाइने सरकारको प्राथमिकतामा उल्लेख छ ।  यस्तै स्वास्थ्य सेवाको विस्तारतर्फ धनकुटा प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल र मेची प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्तरोन्नति गरिने उल्लेख गरिएको छ ।

प्रदेशका प्रत्येक जिल्ला अस्पताललाई न्यूनतम ५० शय्यामा स्तरोन्नति गर्न चालु आर्थिक वर्षको पहिलो त्रैमासिकभित्रै सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरिने बताइएको छ । आइतबारको सार्वजनिक बिदाका दिन पनि कर्मचारीलाई थप सुविधा दिएर अस्पताल सेवा पूर्ण रूपमा सञ्चालन गर्ने र प्रदेशभित्र एक विशिष्टीकृत जलन उपचार एकाइ स्थापना गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

कोशी प्रदेश सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको पूर्णपाठ हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!