
विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हराइरहेका मोरङका नागरिकहरूको पहिचानका लागि मोरङ प्रहरीले डीएनए परीक्षण गराउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सूचना जारी गर्दै डीएनए परीक्षण गराउन आफन्तजनलाई अनुरोध गरेको हो ।
बाढीपछि धादिङ, चितवन तथा अन्य जिल्लाहरूमा फेला परेका पहिचान हुन नसकेका शव तथा शरीरका अङ्गहरूको पहिचानका लागि डीएनए परीक्षण गर्न आग्रह गरिएको प्रहरीले जनाएको छ ।
बाढीमा परि आफन्त हराएका परिवारका नजिकका रगतको नाता पर्ने सदस्यहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न आग्रह गरिएको छ । नमूना सङ्कलनका लागि बुबा, आमा, छोरा वा छोरीमध्ये एक जना र उनीहरू नभएको अवस्थामा दाजु, भाइ, दिदी वा बहिनीमध्ये एक जनाले दुई प्रति पासपोर्ट साइजको फोटोसहित उपस्थित हुनुपर्ने छ ।
विदेशमा रहेका आफन्तको हकमा भने त्यही डीएनए परीक्षण गराई तुलनाका लागि त्यसको विद्युतीय प्रति नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सकिनेछ । परीक्षणका लागि नाता प्रमाणित हुने कागजात, परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि र तस्बिर आवश्यक पर्ने प्रहरीले जनाएको छ ।
यसका लागि कार्यालय समयभित्र सम्पर्क अधिकृत प्रहरी निरीक्षक लेखनाथ दाहाल (९८५२६९०२२४) वा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्नुपर्ने हुन्छ ।

संगालोखबर 














