
विराटनगर । विराटनगरमा युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै एउटा भिडियो भाइरल भयो । उक्त भिडियोमा धेरैले मिश्रित प्रतिक्रिया जनाए । कतिपयले दुर्व्यवहार नभएर जेब्रा क्रसबाट हिँड्न सुझाव दिएको भनेका छन् भने कतिपयले दुर्व्यवहार नै भएको भन्दै कारबाहीको माग गरेका छन् ।
बुधबार दिउँसो विराटनगरको महेन्द्र चोकमा युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै उमेश गजुरेलले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए । त्यसपछि अन्य व्यक्तिहरूले पनि युवतीहरूमाथि दुर्व्यवहार भएको भन्दै कारबाहीको मागसहित धमाधम भिडियो पोष्ट गरे । तर अहिले प्रायले उक्त भिडियो सामाजिक सञ्जालबाट हटाइसकेका छ ।
सामाजिक सञ्जालमा भाइरल भिडियोमा जेब्राक्रस नजिकै विद्यालय पोशाकमा रहेका दुई छात्रा बाटो काट्ने तयारीमा देखिन्छन् । त्यही क्रममा दुई जना सवार मोटरसाइकल छात्राहरूको नजिक पुग्छ । मोटरसाइकल पछाडि बस्ने युवाले आफ्नो बायाँ हात छात्राहरूतर्फ लगेको देखिन्छ । छात्राहरू आफ्नो बाटो लाग्छन्, मोटरसाइकल अगाडि बढ्छ ।
भिडियो भाइरल भएपछि मोरङ प्रहरीले शुक्रबार विराटनगर-४ का ३५ वर्षीय महेशकुमार मण्डल र बारा घर भई विराटनगर बस्दै आएका ३३ वर्षीय अखिलेशकुमार प्रसादलाई पक्राउ गर्यो । पक्राउ परेका दुवै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ ।
दुर्व्यवहारमा परेका भनिएका युवतीहरूले प्रहरीमा अहिलेसम्म कुनै उजुरी समेत दिएका छैनन् । युवतीहरूले प्रहरीमा आफूहरूमाथि दुर्व्यवहार नभएको र उनीहरूले जेब्राक्रसबाट बाटो काट्न संकेत दिएको बताएका छन् ।
भिडियोमा देखिएका युवतीकी दिदी बताउने कृतिका तिम्सिनाले सामाजिक सञ्जाल फेसबुक मार्फत पक्राउ परेका व्यक्तिहरूबाट कुनै दुर्व्यवहार नभएको बताएकी छन् । ‘घटनाको वास्तविक तथ्य, दुवै पक्षको भनाइ र उपलब्ध प्रमाणको उचित परीक्षण नगरी समाचारलाई गलतरूपमा प्रस्तुत गर्नुको जिम्मेवारी कसले लिने ?’, उनले प्रश्न गरेकी छन् ।
मोटरसाइकलमा रहेका व्यक्तिहरूले आफ्नो बाटो हिँड्न आग्रह गरेको र आफूहरू पनि आफ्नै बाटो लागेको उनको भनाइ छ ।
‘हामीमाथि सम्बन्धित व्यक्तिहरूबाट कुनै अभद्र व्यवहार भएको छैन । उहाँहरूले हामीलाई आफ्नो बाटो हिँड्न आग्रह गर्नुभयो र हामी पनि आफ्नो बाटो लाग्यौँ’, उनले लेखेकी छिन्, ‘यतिमात्र भएको सामान्य घटनालाई आधार बनाएर सत्यतथ्य नबुझी र सम्बन्धित पक्षसँग आवश्यक जानकारी नलिइ एक पक्ष पीडित र अर्को पक्षलाई अभद्र व्यवहार गर्ने व्यक्तिको रूपमा प्रस्तुत गर्नु कत्तिको उचित र जिम्मेवार पत्रकारीता हो ?’
युवतीहरूले आफूहरूमाथि दुर्व्यवहार नभएको बताइरहेको बेला भिडियो भाइरल भएकै कारण युवकहरूलाई पक्राउ गर्नु गलत भएको भन्दै कतिपयले प्रहरीमाथि नै प्रश्न गरेका छन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको बताएको छ ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा भिडियोमा देखिएजस्तो हैन भन्ने कुरा आएको छ’, मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले संगालोखबरसँग भने, ‘युवतीहरूले पनि बयान दिइसकेको अवस्था छ ।’
अनुसन्धान जारी रहेको र उनीहरू दोषी नदेखिएमा कानुन अनुसार छाडिने डीएसपी मिश्रले बताए । ‘अनुसन्धान गरिरहेका छौँ । अनुसन्धानपछि बाँकी कुरा खुल्छ’, उनले भने, ‘निर्दोश देखिएमा पक्राउ परेकाहरूलाई कानुन बमोजिम छाड्छौं ।’

संगालोखबर 














