संगालोखबर


विराटनगर । विराटनगरमा शनिवार गरिएको राधाकृष्ण रथयात्रा भव्य भएको छ । एशियाको दोस्रो ठूलो मानिने यो रथयात्रा भव्य, व्यवस्थित र शान्तिपूर्ण भएको हो ।

पानीटंकिस्थित राधाकृष्ण मन्दिरबाट अपरान्ह करिब ३ः३० बजे सुरु भएको रथयात्रा ८ किलोमिटरको दूरी पार गर्दै राति करिब ९ः३० बजे पुनः मन्दिरमै आएर समापन भयो । राधा र कृष्णको जोडी सवार रथलाई मेनरोड, ट्राफिक चौक, रोडशेष, महेन्द्रचोक, बरगाछी, दुर्गा चौक हुँदै पुनः मन्दिर परिसरमा ल्याइएको थियो ।

५९ औं संस्करणको यो रथयात्रामा मानवसागर उर्लिएको थियो । रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मीका अनुसार रथयात्रामा करिब सात लाख भक्तजन सहभागि भएका अनुमान गरिएको छ ।

उनले रथयात्रा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । ‘गतवर्ष भन्दा व्यवस्थित तवरबाट रथयात्रा सम्पन्न भयो । हरेकवर्ष भक्तजनहरूको संख्या पनि बढिरहेको छ’, अध्यक्ष रेग्मीले संगालोखबरसँग भने, ‘यसपटक करिब ७ लाख भक्तजनहरूको सहभागिता रह्यो ।’

यसपटकको रथयात्रामा १०८ वटा सांस्कृतिक झाँकीहरू समावेश भएका उनको भनाइ छ । ‘यसपटक रथ बाहेक १०८ वटा विभिन्न सांस्कृतिक झाँकीहरू समावेश थिए’, उनले थपे, ‘पछि अन्य पनि थपिएका भन्ने छ । हामीसँग रेकर्ड भएको संख्या १०८ हो ।’

उनले गतवर्षको तुलनामा यो वर्ष रथयात्रा भव्य भएको जानकारी दिए । अहिले रथयात्रामा संकलन भएको भेटी गणना भइरहेको छ । उनका अनुसार दुई लाख बढी भेटी संकलन भएको अनुमान गरिएको छ ।

विराटनगरसहित कोशी प्रदेशका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट पनि ठूलो संख्यामा भक्तजनहरू रथयात्रामा सहभागि भएका थिए । रथलाई ४४ ठाउँमा विश्राम गराइएको थियो ।

विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट यसरी नै रथयात्रा निस्कने गरेको छ । ९५ वर्षअघि वि.स.१९८८ बाट हरेक वर्ष खटयात्रा गर्ने क्रम सुरु भएको थियो । त्यसलाई परिष्कृत गर्दै वि.स.२०२५ यता निरन्तर रथयात्रा भइरहेको छ ।

रथयात्रामा हुनसक्ने सम्भावित अवान्छित गतिविधिलाई रोक्न करिब एक हजार पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । सादा पोशाकका सुरक्षाकर्मी र ड्रोनबाट पनि निगरानी गरिएको थियो । 

रथयात्राका क्रममा अवान्छित गतिविधि गर्ने ११० जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । समग्रमा रथयात्रा शान्तिपूर्णरूपमा सम्पन्न भएको उनको भनाइ छ । 

रथयात्रामा भक्तजनलाई लक्षित गर्दै विभिन्न स्थानमा पानी, जुस लगायतका पेय पदार्थको व्यवस्था मिलाइएको थियो । यस्तै सम्भावित जोखिमलाई मध्यनजर गर्दै एम्बुलेन्सको पनि प्रबन्ध मिलाइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!