
विराटनगर । विराटनगरमा ५९ औं संस्करणको राधाकृष्ण रथयात्रा पानीटंकीस्थित मन्दिर परिसरबाट अघि बढेको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक रथयात्रा अपरान्ह ३ः३० बजे मन्दिरबाट निकालिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संयुक्तरूपमा पूजाआजा गरेपछि रथयात्रा अघि बढेको छ ।
रथयात्रा मेनरोड, ट्राफिक चौक, रोडशेष, महेन्द्रचोक, धरान रोड, बरगाछी, दुर्गा चौक हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ । करिब ८ किलोमिटरको दूरी तय गर्ने रथलाई ४४ स्थानमा विश्राम गराइने राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
पेगोडा शैलीमा निर्माण गरिएको रथको उचाइ २१ फिट ३ इन्च, १४ फिट चौडाइ र १९ फिट लम्बाइ छ । रथ तान्नका लागि अग्र भागको जुवाबाट १६५ फिट लम्बाइका दुईवटा लठ्ठा राखिएको छ ।
रथयात्रालाई व्यवस्थित बनाउन करिब एक हजार पाँच सय प्रहरी परिचालन भएका छन् । विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य डेस्क र एम्बुलेन्स सेवाको व्यवस्थासमेत गरिएको छ । वि.स. १९८८ मा खटयात्राबाट सुरु भएको यात्रा २०२४ सालदेखि रथयात्रामा परिणत भएको हो ।

संगालोखबर 













