
विराटनगर । विराटनगरमा भोलि ५९ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदै छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक रथयात्रा पानीटंकीस्थित मन्दिर परिसरबाट निकालिने छ ।
अपरान्ह ३ः३० बजे मन्दिर परिसरबाट सुरु हुने रथयात्रा मेनरोड, ट्राफिक चौक, रोडशेष, महेन्द्रचोक, धरान रोड, बरगाछी, दुर्गा चौक हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।
करिब ८ किलोमिटरको दूरी तय गर्ने रथलाई ४४ स्थानमा विश्राम गराइने राधाकृष्ण रथयात्रा समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए । पेगोडा शैलीमा निर्माण गरिएको रथको उचाइ २१ फिट ३ इन्च, १४ फिट चौडाइ र १९ फिट लम्बाइ छ । रथ तान्नका लागि अग्र भागको जुवाबाट १६५ फिट लम्बाइका दुईवटा लठ्ठा राखिनेछ ।
परम्पराअनुसार दायाँपट्टिको लठ्ठा पुरुष भक्तजनले र बायाँपट्टिको लठ्ठा महिला भक्तजनले तान्ने छन् । रथको अगाडि विभिन्न जातजाति र समुदायका झाँकी तथा भजन मण्डलीहरूको करिब ३ किलोमिटर लामो ताँती रहने आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।
रथयात्राको व्यवस्थापनका लागि मन्दिर कार्यसमितिका अध्यक्ष रेग्मीको अध्यक्षतामा १ हजार १ सदस्यीय मूल समारोह समिति र २१ वटा विषयगत उपसमितिहरू गठन गरिएका छन् । रथयात्रामा नेपाल र भारतका गरी करिब ५ लाख श्रद्धालु भक्तजनहरू उपस्थित हुने आयोजकको अनुमान छ ।
विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य डेस्क र एम्बुलेन्स सेवाको व्यवस्थासमेत गरिनेछ । वि.स. १९८८ मा खटयात्राबाट सुरु भएको यात्रा २०२४ सालदेखि रथयात्रामा परिणत भएको हो ।

संगालोखबर 














