
संखुवासभा । संखुवासभामा विद्यालयमै गोली प्रहार गरेर शिक्षकको हत्या भएको छ । गएराति करिब ७ बजे मकालु गाउँपालिकामा-१ चिर्खाङस्थित कालिका आधारभूत विद्यालयका शिक्षक ३६ वर्षीय नरकुबिर खम्बु राईको हत्या भएको हो ।
प्रहरीका अनुसार शिक्षक खम्बुको घर संखुवासभाकै सिलीचोङ गाउँपालिका-७ हो । उनी सोही विद्यालयको आवासमा बस्दै आएका थिए ।
‘शिक्षक सोही विद्यालयको आवासमा बस्दै आउनुभएको रहेछ’, संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीले संगालोखबरसँग भने, ‘खाना खाएर भाडा धुन निक्लिएको बेला भरुवा बन्दुक प्रहार भएको देखिन्छ ।’
सोही विद्यालयको आवासमा बस्ने शिक्षिका टिकामाया राईले बन्दुक पड्किएको आवाज सुनेपछि बाहिर निक्लिएर हेर्दा शिक्षक खम्बु भुइँमा ढलेको र रगत बगेको अवस्थामा फेला पारेकी थिइन् ।
‘घटना ७ बजेको भएपनि राति ९ बजेमात्रै जानकारी आयो’, उनले थपे, ‘घटनास्थल दुर्गमस्थानमा पर्छ । इलाका प्रहरी कार्यालय हेदाङनाबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ । करिब ६ घण्टा पैदल हिँडेर पुगिन्छ ।’
अहिले प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने काम भइरहेको इन्स्पेक्टर राजवंशीले जानकारी दिए । अहिलेसम्म कसले र किन शिक्षकको हत्या गर्यो भन्ने खुल्न सकेको छैन । घटनामा संलग्नको खोजी भइरहेको उनले बताए ।

संगालोखबर 














