
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिबेणीस्थित सप्तकोशी नदीमा पानी बोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तीन जना वेपत्ता भएका छन् ।
भोजपुरको हतुवागढी गाँउपालिका–९ कोप्चेबाट यात्रु लिएर सुनसरीको बराहक्षेत्रतर्फ जादै गरेको ओवीएम कम्पनीको पानीबोट दुर्घटना भएको हो ।
दुर्घटनामा परी सुनसरीको बराक्षेत्र नगरपालिका १ का ५२ बर्षीय लिला राई, पहिचान नखुलेकी करिब ५÷७ वर्षीय एक वालिका र पहिचान नखुलेका ५०/५५ बर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकसहित १५ जना सवार सो बोट दुर्घटना भएको हो ।
सो क्रममा १२ जनालाई उद्धार गरेर उपचारका लागि चतरा अस्पताल पठाएको भएपनि उपचारकै क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धार गरिएका चालकसहित ९ जना सकुशल छन् । घाइते भएका भोजपुरको हतुवागढी ४ का ३१ बर्षीय मोहन सुनारको चतरा अस्पतालमै उपचार भइरहेको छ ।
चालक सुनसरीको बराहक्षेत्र १ का २४ बर्षीय सुमन मगर प्रहरी चौकी बराहक्षेत्रको नियन्त्रणमा छन् । बोट दुर्घटनामा वेपत्ता भएका तीन जनाको खोजी भइरहेको छ ।


संगालोखबर 























