
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग गर्ने उद्देश्यले विराटनगरमा नाटक मञ्चन हुने भएको छ । बाढीपीडितलाई सहयोग गर्नका लागि धिरज राईको कथा ‘सिफारिस’ मा आधारित नाटक मञ्चन गर्न लागिएको हो ।
आरोहण गुरुकुलले आज सूचना जारी गर्दै भदौ २१ देखि २४ गतेसम्म नाटक मञ्चन गर्न लागिएको जनाएको छ । बालकृष्ण पोखरेल नाटकघर आरोहण गुरुकुल हाटखोलामा साँझ ५ बजेबाट नाटक मञ्चन हुनेछ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भीषण एवम् विनाशकारी बाढी आएर देशले अकल्पनीय विपत्ति सामना गर्नुपरेको प्रति गुरुकुलले दुःख व्यक्त गरेको छ ।
‘बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भयो, सोप्रति गहिरो दुःख व्यक्त गर्दछौँ र उक्त घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण एवम् शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताहरू यथाशीघ्र पत्तो लागोस् भनी कामना तथा प्रार्थना गर्दछौँ’, सूचनामा भनिएको छ ।
सङ्कटको बेला सबै मिली हातेमालो गरेर परिस्थितिको सामना गर्नु अपरिहार्य रहेको भन्दै परस्पर सहयोगले नै सङ्कटलाई पार लगाउन सकिने गुरुकुलले उल्लेख गरेको छ । रङ्गमञ्चमार्फत आर्थिक सहयोग सङ्कलन गरी नेपाल सरकारको आधिकारिक विपद् उद्धार र राहत कोषमा जम्मा गरिने जनाइएको छ ।
नाटक हेर्नका लागि ३ सय, ५ सय र १ हजार टिकट दर तोकिएको छ । विद्यार्थीहरूलाई सहुलियत दरमा टिकट उपलब्ध गराइने गुरुकुलले जनाएको छ ।

संगालोखबर 














