संगालोखबर


नुवाकोट । नेपाली काँग्रेसका नेता डा. सुनील शर्माको पहलमा काठमाडौं मेडिकल कलेज (केएमसी) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई लक्षित गरी नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

विदुर नगरपालिका-५, पीपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा केएमसीका वरिष्ठ चिकित्सकहरूको टोलीले बाढीबाट प्रभावित नागरिकहरूलाई स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको छ ।

शिविरमा आएका बिरामीको स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यकताअनुसार औषधि वितरण गरिएको केएमसीले जनाएको छ । थप उपचार आवश्यक देखिएका बिरामीलाई अस्पतालमा ल्याएर उपचार गराउने गरी रिफर गर्ने व्यवस्था पनि गरिएको छ ।

बाढीका कारण घरबार, सम्पत्ति र आम्दानीको स्रोत गुमाएका नागरिकमाथि उपचारको थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमै पुगेर शिविर सञ्चालन गरिएको केएमसीले जनाएको छ । तत्काल उपचार आवश्यक भएका बिरामीलाई शिविरमै उपचार गर्नुका साथै जटिल स्वास्थ्य समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पताल ल्याउने व्यवस्था गरिएको छ ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि केएमसीले यसअघि नै आवश्यक उपचार निःशुल्क गर्ने घोषणा गरिसकेको थियो । प्रभावित क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नु सोही अभियानको निरन्तरता भएको अस्पतालले जनाएको छ ।

शर्माको पहलमा केएमसीले आर्थिक रूपमा विपन्न तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । जटिल रोगका बिरामीदेखि शल्यक्रिया आवश्यक पर्ने तथा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई अस्पतालले विभिन्न समयमा निःशुल्क उपचार तथा आवश्यक सहयोग गरिसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!