
विराटनगर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो सल्लाह अनुसार अघि बढ्न सुझाव दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै साम्पाङले सफल हुन बालेनले सल्लाहकारको भन्दा पनि आफ्नो फेसबुक स्टाटस पढेर अघि बढ्दा फलदायी हुने उल्लेख गरेका हुन् ।
‘बालेन तिम्लाई मैले भनेकै हुँ, पुरानो साथी भएको नाताले ! २७-२८ जना सल्लाहकारको कुरा सुन्नु भन्दा मेरो फेसबुकको वाल पढ्नु अनि अघि बढ्नु !’, साम्पाङले लेखेका छन् ।
बालेन काठमाडौंको मेयर हुँदा पनि आफूले कटाक्ष गरेको साम्पाङले फेसबुक स्टाटसमा लेखेका छन् । ‘त्यो दिनलाई सम्झ, जब तिमी मेयर बनेको केही महिनामै फोहोर रोकिएर समस्या भोगेका थियौ ! काठमाडौंको बन्चरे डाँडामा फोहोर लान रोक्दाको बखत पनि मैले कटाक्ष गरेको थिएँ’, उनले लेखेका छन्, ‘त्यसपछि फोहोर व्यवस्थापनमा लागेका थियौ ! मैले गरेको आलोचना देख्ने तर त्यो आलोचना भित्रको सुझाव नदेख्ने र नबुझ्ने ?’
उनले बालेनलाई असफल बनाउन उनकै सल्लाहकार जिम्मेवार भएको उल्लेख गरेका छन् । ‘यसपालि पनि मैले के भनेको थेँ उद्धारको बारेमा ? तिम्लाई असफल बनाउन तिम्रै सल्लाहकारहरू जिम्मेवार छन् !’, उनले लेखेका छन्, ‘तिमी सफल बन्नका लागि मेरो सल्लाहमा हिँड्नै पर्छ ! मुखले आई लभ यू भन्दिन । म शब्दमा होइन, व्यवहारमा छ मेरो माया ! तिम्लाई असफल तिम्रै वरिपरिको मान्छेहरूले बनाउँदैछन् ! आँखा चिम्लेर सोच !’
उनले आफूलाई देख्न मनको आँखा खोलेर हेर्न पनि बालेनलाई सुझाव दिएका छन् । ‘तनको आँखाले हेर्दा मलाई देख्दैनौ ! मलाई देख्न मनको आँखा खोलेर हेर ! मनको आँखाले हेर तिम्रो असल मित्रले टाढै बसेर तिम्लाई गाली गरेरै भए पनि सही ठाउँ र सही भूमिकामा ल्याउन चाहेको छ ! यो कुरा बुझ्दा ढिलो भैसक्छ होला तर !’, साम्पाङले स्टाटसमा लेखेका छन् ।

संगालोखबर 














