
धनकुटा । धनकुटाको हिले बजार र पाख्रिबास क्षेत्रमा सञ्चालित औषधि पसलहरूको अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएको छ ।
औषधि व्यवस्था विभाग शाखा कार्यालय विराटनगरको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय धनकुटा, जिल्ला स्वास्थ्य कार्यालय, प्रहरी चौकी हिले र इलाका प्रहरी कार्यालय पाख्रिबासको टोलीले गरेको संयुक्त अनुगमनमा विभिन्न कैफियत फेला परेको हो ।
अनुगमनका क्रममा पाख्रीबास-४ स्थित भुवन कार्की र देवानन्द झाद्वारा सञ्चालित पाख्रीबास पाथिभरा औषधि पसलमा सिलबन्दी गरी बन्द गरिएको छ । बिक्री-वितरणको अधिकारप्राप्त व्यवसायी देवानन्द झाको अनुपस्थितिमा पसल सञ्चालन भइरहेको, दर्ताबिनाका औषधि भण्डारण गरिएको र चिस्यानमा राख्नुपर्ने औषधि बाहिरै राखिएकाले पसल सिल गरी औषधिहरू जफत गरिएको हो ।
यस्तै, मापदण्ड विपरीत सञ्चालन भइरहेका अन्य चारवटा पसलको दर्ता प्रमाणपत्र जफत गरी सञ्चालकहरूलाई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । पाख्रिबास-४ स्थित प्रकाश बाबु शाह सञ्चालक रहेको हिले पाख्रीबासफार्मेसी र धनकुटा-१ हिलेस्थित अमित थापा सञ्चालक रहेको हाम्रो बुद्ध फार्मेसीको दर्ता प्रमाणपत्र जफत गरिएको हो ।
यस्तै भगवती पाण्डे सञ्चालक रहेको भगवती बक्रकुण्ड फार्मेसी र ललित घिमिरे तथा पिताम्बर दास सञ्चालक रहेको उज्यालो मेडिकल हलको पनि दर्ता प्रमाणपत्र जफत गरिएको छ ।
यी पसलहरूमा बिक्री गर्दा अनिवार्य अभिलेख राख्नुपर्ने औषधिको सञ्चय र बिक्री अभिलेख नराखिएको, म्याद सकिएका औषधि छुट्याएर राख्ने छुट्टै ठाउँ नबनाएको लगायतका कैफियत पाइएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिए ।
अनुगमनका क्रममा हिलेस्थित दिव्या फार्मेसी, जनसेवा मेडिकल हल र पाख्रीबासस्थित हाङ्खिम फार्मेसीको अवस्था सामान्य पाइएको अनुगमन टोलीले जनाएको छ ।

संगालोखबर 














