
विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूलाई राहत तथा पुनर्स्थापनाका लागि विराटनगरको अरनिको कलेजले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी आज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ मोरङलाई १० लाख १ हजार १ सय १ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
कलेजका प्राचार्य राजेश कार्कीसहित कलेज सञ्चालकहरू विलास लुइँटेल, भरतराज दाहाल, निलमकुमार अधिकारी, विकास खनाल, डा.भविन्द्र निरौला, लक्ष्मीप्रसाद अधिकारी र शैलेशकुमार झासहितको टोलीले संघका अध्यक्ष अमित ढकाल र प्रदेश सचिव दिपेश बास्तोलालाई चेक हस्तान्तरण गरेका हुन् ।
विपत्तिका बेला सहयोग गर्नु सबैको दायित्व भएकाले कलेजको तर्फबाट पनि बाढीपीडितलाई सहयोग गरिएको कलेजका सञ्चालक विलास लुइँटेलले जानकारी दिए ।
बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने क्रम चलिरहेको छ । कोशी प्रदेशबाट पनि करोडौँ रकम कोषमा जम्मा भइसकेको छ ।

संगालोखबर 














