
धनकुटा । धनकुटामा गत आर्थिक वर्ष २०८२/८३ मा १ सय ५१ वटा साना तथा मझौला उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उक्त संख्यामा उद्योग बन्द भएका हुन् ।
कार्यालयका अनुसार गत आर्थिक वर्ष प्रशासनतर्फ जम्मा १ सय २३ तथा वाणिज्यतर्फ २८ उद्योग बन्द भएका छन् । यस्तै गत आर्थिक वर्ष १ सय ४८ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ ।
जसमा वाणिज्यतर्फ ३७ र प्रशासनतर्फ १ सय ११ नयाँ उद्योग दर्ता भएका घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी अर्जुन गिरीले जानकारी दिए । प्रशासनतर्फ उत्पादकमूलक १५, कृषि तथा वन जन्य ५२, पर्यटन १७, सेवामूलक २२ र सूचना प्रविधि अन्तरगत ५ उद्योग दर्ता भएका हुन् ।
वाणिज्यतर्फ खाद्यान्न र किराना गरी जम्मा ३७ वटा नयाँ उद्योग दर्ता भएका छन् । प्रशासनतर्फ ५ सय १६ वटा र वाणिज्यतर्फ २ सय ४८ गरी जम्मा ७ सय ६४ उद्योग नवीकरण भएका कार्यालयको तथ्याङ्क छ ।
आर्थिक वर्ष २०८०/८१ मा ३ सय ३६ र आर्थिक वर्ष २०८१/८२ मा १ सय ५१ उद्योग बन्द भएका थिए । आर्थिक वर्ष २०८१/८२ मा १ सय ३४ वटा नयाँ उद्योग दर्ता भएका थिए ।
कार्यालयमा हालसम्म जम्मा ४ हजार २९३ उद्योग दर्ता छन् । गत आर्थिक वर्ष १ करोड ८ सय ५५ रुपैयाँ पुँजी वृद्धि भएको र ३५ लाख १७ हजार ३९९ रुपैयाँ कर संकलन भएको कार्यालय प्रमुख माधव बाँस्कोटाले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 














