
विराटनगर । विराटनगरको दिव्य ज्योति अस्पतालले गाँजा बरामद भएको भ्यान आफ्नो नभएको दाबी गरेको छ । दिव्य ज्योति अस्पताल प्रालि लेखिएको मारुती भ्यानमा ६० किलो गाँजा भेटिएपछि अस्पतालले आज पत्रकार सम्मेलन गरेर यस्तो दाबी गरेको हो ।
विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल बीओपी दरैयाको टोलीले दिव्य ज्योति अस्पताल प्रालिको को १ च ६६२० नम्बरको भ्यानबाट ६० किलो गाँजा बरामद गरेको भन्ने समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको अस्पतालले जनाएको छ ।
घटनापछि आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष देवा यादवले सो भ्यान अस्पतालको स्वामित्वमा नरहेको बताए । अस्पतालको नाम लेखिएकै आधारमा उक्त गाडीलाई अस्पतालसँग जोडेर समाचार प्रकाशन हुँदा संस्थाको प्रतिष्ठा र जनविश्वासमा अनावश्यक भ्रम सिर्जना हुने भएकाले सत्यतथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न अस्पतालले आग्रह गरेको छ ।
दिव्य ज्योति आँखा अस्पतालको भ्यानमा गाँजा भेटिएको भनेर प्रचार भएकोप्रति आपत्ति जनाउँदै यादवले यसले अस्पतालको प्रतिष्ठामा आँच आएको बताए । सो भ्यान कसको हो भन्ने थाहा नभएको बताउँदै उनले अस्पतालको नाममा एउटा मात्र गाडी रहेको स्पष्ट पारे ।
कतिपय गाडीहरूले विभिन्न अस्पतालका नामको स्टिकर टाँसेर चलाउने गरेको भएपनि अब दिव्य ज्योतिको नाममा त्यस्तो गरेको पाइए स्टिकर खोसिने यादवले बताए । घटना अत्यन्त संवेदनशील र गम्भीर प्रकृतिको भएकाले सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी वास्तविक संलग्न व्यक्ति वा पक्षको पहिचान हुनुपर्ने अस्पतालको माग छ ।
घटनामा दोषी जोसुकै भए पनि प्रचलित कानुनबमोजिम कारबाही हुनुपर्ने उल्लेख गर्दै अस्पतालले अनुसन्धानबाट प्रमाणित नभएसम्म कुनै व्यक्ति वा संस्थालाई दोषीका रूपमा प्रस्तुत नगर्न आग्रह गरेको छ ।

संगालोखबर 














