संगालोखबर


विराटनगर । विराटनगरमा हरेक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी तीव्र पारिएको छ । राधाकृष्ण रथयात्रा समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै पानीटंकीस्थित मन्दिर परिसरबाट निकालिने ५९ औं संस्करणको रथयात्राको तयारी तीव्र पारिएको जानकारी दिएको हो ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात भदौ २० गते अपरान्ह ३ः३० बजे मन्दिर परिसरबाट सुरु हुने रथयात्रा मेनरोड, ट्राफिक चौक, रोडशेष, महेन्द्रचोक, धरान रोड, बरगाछी, दुर्गा चौक हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।

करिब ८ किलोमिटरको दूरी तय गर्ने रथलाई ४४ स्थानमा विश्राम गराइने आयोजकले जनाएको छ । पेगोडा शैलीमा निर्माण गरिएको रथको उचाइ २१ फिट ३ इन्च, १४ फिट चौडाइ र १९ फिट लम्बाइ छ । रथ तान्नका लागि अग्र भागको जुवाबाट १६५ फिट लम्बाइका दुईवटा लठ्ठा राखिनेछ ।

परम्पराअनुसार दायाँपट्टिको लठ्ठा पुरुष भक्तजनले र बायाँपट्टिको लठ्ठा महिला भक्तजनले तान्ने छन् । रथको अगाडि विभिन्न जातजाति र समुदायका झाँकी तथा भजन मण्डलीहरूको करिब ३ किलोमिटर लामो ताँती रहने आयोजक समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।

रथयात्राको व्यवस्थापनका लागि मन्दिर कार्यसमितिका अध्यक्ष रेग्मीको अध्यक्षतामा १ हजार १ सदस्यीय मूल समारोह समिति र २१ वटा विषयगत उपसमितिहरू गठन गरिएका छन् । रथयात्रामा नेपाल र भारतका गरी करिब ५ लाख श्रद्धालु भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ ।

रथयात्राको क्रममा भक्तजनहरूबाट प्राप्त हुने सम्पूर्ण भेटी रकम भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका प्रभावित तथा पीडित नागरिकको राहत र उद्धारका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने आयोजकले जनाएको छ ।

रथयात्राका क्रममा सुरक्षा व्यवस्था, खानेपानी, नगर सरसफाइ र स्वास्थ्य सेवाका लागि जिल्ला प्रशासन कार्यालय, विराटनगर महानगरपालिका, जिल्ला प्रहरी कार्यालय तथा स्थानीय स्वास्थ्य निकायहरूसँग आवश्यक समन्वय भइसकेको अध्यक्ष रेग्मीले जानकारी दिए । परिक्रमा मार्गका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य डेस्क र एम्बुलेन्स सेवाको व्यवस्थासमेत गरिनेछ ।

यसैबीच श्रीकृष्ण जन्माष्टमीका अवसरमा प्रदान गरिने एक लाख एक हजार राशिको ‘पोखरमल राठी धर्म संस्कृति पुरस्कार’ झापाको सतासी धामलाई प्रदान गरिने भएको छ । साथै संस्कृत अध्ययन गर्ने बटुकहरूलाई अक्षय कोषको ब्याज रकमबाट छात्रवृत्ति पुरस्कार वितरण गरिने अध्यक्ष रेग्मीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!