रबिन कटेल/संगालोखबर

विराटनगर । उद्योगी व्यवसायीहरूको मुलुककै सबैभन्दा जेठो संस्था मोरङ उद्योग व्यापार संघले ७५ बर्षे इतिहास रचेको छ । औद्योगिक नगरी विराटनगरमा २००७ सालमा स्थापना भएको संघले विभिन्न आरोह-अवरोह झेल्दै ७५ वर्ष पार गरेको हो ।

दुई वर्षअघि मोरङ व्यापार संघबाट नाम परिमार्जन गरेर बनेको मोरङ उद्योग व्यापार संघले मङ्गलबार आफ्नो ६९ औं वार्षिक साधारण सभा गरेको छ । विराटनगरको वीरेन्द्र सभागृहमा भव्य समारोह आयोजना गरेर साधारण सभा गरिएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार उद्योगी व्यवसायीको साथमा रहेको बताए । राज्यले उद्योगी व्यवसायीलाई तर्साउने काम गर्नु नहुने भन्दै उनले कोशी प्रदेश सरकारले त्यसो नगर्ने धारणा राखे ।

प्रदेश सरकारले कर्मचारीलाई स्थानीय उद्योगबाट उत्पादित अल्लो, खाडी लगायतका कपडा लगाउने व्यवस्था मिलाएको उदाहरण दिदैँ मुख्यमन्त्री कार्कीले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

साधारण सभामा मोरङ उद्योग व्यापार संघलाई गर्विलो इतिहास रच्दै यहाँसम्म ल्याउन योगदान पुर्याएको भन्दै पूर्वअध्यक्षहरूलाई सम्मान गरिएको छ ।

पूर्वअध्यक्षहरू सुरेश शर्मा, देवेन्द्रराज गढिया, ताराचन्द खेतान, नन्दकिशोर राठी, खेमचन्द जैन, शंकरलाल अग्रवाल, महेश जाजु, पवनकुमार सारडा, अविनाश बोहरा, प्रकाश मुन्दडा, निवर्तमान अध्यक्ष नविन रिजाल लगायतलाई सम्मान गरिएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य र संघका अध्यक्ष अनुपम राठीले पूर्वअध्यक्षहरूलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरी सम्मानित गरे ।

कार्यक्रममा ७५ वर्षे इतिहास समेटिएको ‘७५ औं बर्षः शब्द र तस्वीर संग्रह’ नामक पुस्तक विमोचन गर्नुका साथै संघको विगतदेखि वर्तमानसम्म समेटेर तयार पारिएको वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा संघले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूलाई राहत र पुनर्स्थापनाका लागि ४१ लाख रुपैयाँ सहयोग गरेको छ ।

संघका अध्यक्ष राठीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उद्योगी व्यवसायीहरूसहित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न जिल्लाका उद्योग वाणिज्य संघका अध्यक्षहरू तथा उच्चपदस्थ व्यक्तिहरू सहभागि थिए ।

उद्योगी व्यवसायीको पहरेदार संस्थाको रुपमा काम गर्दै आएको मोरङ उद्योग व्यापार संघले निजी क्षेत्रका समस्या समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

तस्वीर: गोमा ढुंगाना/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!