
विराटनगर । सहयोग सानो-ठूलो हुँदैन, यत्ति हो मन हुनुपर्छ । यसको उदाहरण मोरङको रंगेली नगरपालिका-१ गोहीगाडा स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरू हुन् ।
भदौ १० मा आएको विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले स्वइच्छाले ९९५ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन् ।
विद्यालयका अनुसार उनीहरूले एक दिनको खाजा खर्च कटौती गरी बाढीपीडितलाई सहयोग गरेका हुन् । विद्यार्थीहरू पवित्रा प्रधान, पूजा यादव, सन्जु चौधरी र चाँदनी राईको नेतृत्वमा रकम सङ्कलन गरी विद्यालयका शिक्षक मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
रकम थोरै भएपनि दुःखको समयमा सबै नेपालीहरूको सहयोग अपरिहार्य भएको विद्यार्थीहरूले बताए । उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
विद्यार्थीहरूले आर्थिक सहयोग गरेर राष्ट्रपतिको भक्ति र प्रेम देखाएका छन् । विपद्को समयमा सबैले आफ्नो ठाउँबाट स्वइच्छाले सहयोग गर्नुपर्ने विद्यार्थीहरूले बताए ।
साथै उनीहरूले बाढीबाट क्षति भएका विद्यालयहरू यथाशीघ्र मर्मत तथा पुनर्निर्माण गरी विद्यार्थीहरूलाई पढ्न पाउने सुविधा उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेका छन् ।

संगालोखबर 














