मोहन ढकाल/संगालोखबर


विराटनगर । भदौ १० गते राति करिब साढे ८ बजे परिवारका सदस्यसँग फोनमा कुराकानी भएको थियो । करिब आधा घण्टाको संवादपछि भोलि कुरा गर्ने भन्दै फोन राखियो । तर त्यसपछि कुनै संवाद हुन सकेको छैन ।

भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका सुनसरीको दुहबी-४ का सचिन गौतमकी मामाकी छोरी अनुपा सापकोटाले सुनाइन् । बाढी आएको खबरपछि भाइलाई फोन गर्दा सम्पर्क हुनै नसकेको उनले बताइन् ।

२६ वर्षीय गौतम करिब डेढ वर्षदेखि रसुवाको अपर त्रिशूली जलविद्युत आयोजनामा कोरियन डुसन कम्पनीमा इन्जिनियरका रूपमा कार्यरत थिए । तर भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उनी सम्पर्कविहीन छन् ।

आज बाढी आएको हप्तादिन भयो । सोमनाथ गौतम र नारायणी गौतमका एक्ला छोरा सचिनको अहिलेसम्म अत्तोपत्तो छैन । सचिनको खोजीका लागि परिवारले आग्रह गरिरहेको छ ।

‘अहिलेसम्म भाइको अवस्थाबारे केही पत्ता लगाउन सकिएको छैन’, सापकोटाले संगालोखबरसँग भनिन्, ‘आज चाँहि भाइ बसेको ठाउँभन्दा दुई किलोमिटर माथिसम्म जाने भनेर जानकारी आएको छ ।’

आज केही पत्ता लाग्छ की भनेर प्रतीक्षा गरिरहेको उनले सुनाइन् । प्रशासनबाट पनि कुनै सहयोग नपाएको उनले गुनासो गरिन् । ‘चिनजानका मान्छेहरूलाई भनेर केही दबाब दिँदा सामान्य पहल भएको छ’, उनले भनिन्, ‘सुरुमा त केही सुनुवाइ नै भएको थिएन ।’

आज क्याम्प एरियामा ड्रोन उडाएर खोजी गर्ने जानकारी आएको उनले बताइन् । सचिनकी आमा छोरा बेपत्ता भएको खबर सुनेदेखि नै अर्धचेत अवस्थामा छिन् । उनको उपचार भइरहेको छ । ‘सचिन एक्लो छोरा हुन्’, उनले भनिन्, ‘उनको परिवारमा बाबु-आमा र दिदीहरू हुनुहुन्छ ।’ सहारा नै बेपत्ता भएपछि परिवार गहिरो पीडामा छ ।

घटनाको अघिल्लो राति साढे ८ बजेतिर सचिनको घरमा कुराकानी भएको थियो । ‘जति कुरा हुनु त्यही दिन भयो, भोलिपल्ट एक्कासि बाढी आएको खबर सुनियो । त्यसपछि सम्पर्क हुन सकेन’, उनले भनिन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!