
विराटनगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ ।
महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले महानगरपालिकाले आजबाट प्रयोगशाला सेवा सुरु गरेको हो ।
प्रयोगशालाको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण सहुलियत दरमा हुने भएको छ ।
उद्घाटन कार्यक्रममा बाेल्दै मेयर कोइरालाले महानगरवासीलाई सस्तो शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धताअनुसार प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए । निजी स्वास्थ्य संस्थाको तुलनामा रानी अस्पतालबाट प्रयोगशालाका सेवासहित अन्य स्वास्थ्य सेवा कम शुल्कमा उपलब्ध गराउने महानगरको नीति रहेको उनको भनाइ थियो ।
महानगरका १९ वटै वडाका वडाध्यक्षको उपस्थितिमा भएको कार्यक्रममा वडा नम्बर १५ का अध्यक्ष प्रकाश साहले दक्षिणी क्षेत्रलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा विस्तार गरिनु सकारात्मक रहेको बताए । विगतमा विकासका दृष्टिले पछाडि परेको दक्षिणी क्षेत्र पछिल्लो समय महानगरको प्राथमिकतामा पर्न थालेको उनको भनाइ छ ।
शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलले रानी अस्पतालबाट प्रयोगशालासहितका स्वास्थ्य सेवा विस्तार हुँदा विपन्न तथा पछाडि परेका समुदाय प्रत्यक्ष लाभान्वित हुने बताए ।
स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रयोगशाला सञ्चालनमा ल्याइएको जानकारी दिए ।
रानी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमसमेत सञ्चालनमा रहेकाले बीमा कार्ड प्रयोग गर्ने सेवाग्राहीले प्रयोगशालासहितका विभिन्न सेवा निःशुल्क लिन सक्ने यादवले बताए । स्वास्थ्य बीमाको पहुँचबाट उपचार सेवा लिने नागरिकका लागि प्रयोगशाला सेवा थप उपयोगी हुने उनको भनाइ छ ।
रानी अस्पतालका प्रमुख मानिकचन भगतका अनुसार प्रयोगशालामा सुगर, थाइराइड, पूर्ण रक्त परीक्षण, कलेजो र मिर्गौलाको कार्य परीक्षण, मलेरिया, कालाजारलगायत ४० भन्दा बढी प्रकारका साधारण तथा विशेष परीक्षण हुनेछन् । प्रयोगशालामा आवश्यकताअनुसार थप परीक्षण सेवा विस्तार गर्दै जाने तयारी रहेको अस्पतालले जनाएको छ ।
रानी अस्पतालले पछिल्लो समय स्वास्थ्य सेवाको दायरा पनि विस्तार गर्दै आएको छ । अस्पतालमा २४ घण्टे प्रसूति केन्द्र (बर्थिङ सेन्टर), निःशुल्क फिजियोथेरापी सेवा, विद्युतीय मुटु परीक्षण, गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सर परीक्षणलगायत विशेषज्ञ सेवा उपलब्ध रहेको महानगरका जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताए ।

संगालोखबर 














