
विराटनगर । सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढ्न थालेसँगै सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
‘सप्तकोशीका सहायक नदीमा पानीको बहाव बढिरहेको सूचना प्राप्त भएको छ । नदी तटीय क्षेत्रका बसोबास गर्नेहरू सुरक्षित रहनुहोला । साथै माछा मार्ने, दाउरा टिप्ने, सेल्फी तथा भिडियो खिच्ने लगायतका गतिविधि नगरी सुरक्षित रहनुहुन अनुरोध गर्दछौँ’, सूचनामा भनिएको छ ।
यस्तै कोशी ब्यारेजले पनि सूचना जारी गर्दै बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिका निवासी नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई सुरक्षित रहन आग्रह गरेको छ ।
पछिल्लो अपडेट अनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ६१ हजार ८० क्युसेक मापन गरिएको छ । बहाव बढेपछि कोशी ब्यारेजका १८ वटा ढोका खोलिएको छ ।


संगालोखबर 














