
विराटनगर । विराटनगर-४ गणेश चोकमा मध्यरातमा चोरी गर्न गएका एक पुरुषको एउटा घरको तीन तलामाथिबाट खसेर मृत्यु भएको छ । पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्न पुगेका अन्दाजी ३५/४० वर्षीय पुरुषको गएराति छतबाट खसेर मृत्यु भएको हो ।
छिमेकको अर्को घरबाट माथि चढेका ती व्यक्ति पछि न्यौपानेको घरमा पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । तीन तलामाथि पुगेका उनी घरधनीले थाहा पाएर हो-हल्ला गर्दा हामफालेर भाग्न खोज्दा गम्भीर घाइते भएका थिए ।
उनको राति १२ः२० बजेतिर घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । अन्दाजी ३५/४० वर्षीय जस्तो देखिने मृतकको पहिचान खुल्न बाँकी रहेको उनले बताए ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगेको छ । मृतकको पहिचानको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 














