
विराटनगर । विराटनगरमा आज धानखेतभित्र सालनालसहितको शिशु भेटिएको छ । विराटनगर महानगरपालिका-४ इक्राही नहरस्थित धान खेतमा बिहान करिब ९ः४० बजे नवजात शिशु (छोरा) फेला परेको हो ।
सेतो प्लाष्टिकको बोरामा राखेको अवस्थामा शिशु फेला परेको मोरङका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए । शिशु रोएको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शिशुलाई उद्धार गरेर नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य छ । शिशु कसले र किन फालेको हो भन्ने खुलेको छैन । प्रहरीले यो विषयमा अनुसन्धान गरिरहेको छ ।
केही दिन अघि पनि विराटनगरको मालपोत कार्यालय नजिक सडक नालीमा नवजात शिशु फेला परेको थियो । अनुसन्धानका क्रममा आमा पत्ता लगाएर प्रहरीले शिशु जिम्मा लगाएको थियो ।

गोमा ढुंगाना/संगालोखबर 














