
धनकुटा । धनकुटामा पनि आज गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायले एक वर्षभित्र दिवाङ्गत भएका आफन्तको सम्झनामा मानिसलाई गाईका रूपमा सिँगारी बजार परिक्रमा गराएर गाईजात्रा मनाएका हुन् ।
धनकुटा बजार क्षेत्रमा वर्षभरि मृत्यु भएका १२ जनाको घर परिवारले जात्रा निकालेका थिए । नगर परिक्रमा गर्दा मृत्यु भएका व्यक्ति गाईको पुच्छर समातेर वैतरणी पार हुन्छ भन्ने धार्मिक विश्वास छ ।

श्रीवानीस्थित कृष्ण मन्दिरबाट सुरु भएको जात्रा मदनचोक, हुलाकटोल, परिचय मोड, भीमसेनथान, भीमनारायण चोक, माथिल्लो कोप्चे, हटिया, तल्लो कोप्चे हुँदै टुँडिखेल आएर समापन भएको छ ।
बजार परिक्रमाका क्रममा श्रद्धालुहरूले सहभागीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही लगायत अन्न र द्रव्य दान गरेका थिए । पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्गात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत गाउने गरिन्छ ।

राजा प्रताप मल्लले पुत्रशोकले भावविह्वल आफ्नी पत्नीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई मृत्यु भएका व्यक्तिका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन आदेश दिएपछि गाईजात्राको चलन सुरु भएको बताइन्छ ।

गाईजात्राले मात्रै रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्गात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको विश्वास छ ।

सन्तोष सुवेदी/संगालोखबर 














