
खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ छेपेखोलास्थित मध्यपहाडी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
आज दिउँसो करिब २ बजे भुलभुलेबाट दिक्तेलतर्फ आउँदै गरेको ना ५ त ४५५५ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका १४ वर्षीय दिवस परियारको मृत्यु भएको खोटाङ प्रहरीका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिए ।
गम्भीर घाइते परियारलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । उनको शव जिल्ला अस्पताल दिक्तेलमा राखिएको छ ।
सबै घाइतेलाई प्राथमिक उपचारका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको थियो । प्राथमिक उपचारपछि केही घाइतेलाई थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक ओखलढुंगाको सिद्धिचरण नगरपालिका-७ का २३ वर्षीय रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

संगालोखबर 














