
धनकुटा । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धन, देशभर श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदै छ । धनकुटाको निशान भगवती मन्दिर परिसरमा पनि बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरूको भीड लागेको छ ।
मन्दिर परिसरमा गुरु तथा पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्न र नयाँ जनै धारण गर्न धर्मावलम्बीहरूको भीड लागेको हो । बिहानै स्नान गरी गुरु तथा पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने परम्परा छ ।

धार्मिक विश्वास अनुसार मन्त्रिएको रक्षासूत्र धारण गर्दा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने मान्यता रहिआएको छ । जनैपूर्णिमाका दिन तागाधारी समुदायले विधिपूर्वक पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्ने गर्दछन् । ऋषिहरूलाई तर्पण तथा पूजा गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी समेत भन्ने गरिन्छ ।

आज दिदीबहिनीहरूले दाजुभाइको हातमा राखी बाँधेर रक्षाबन्धन मनाउने चलन समेत छ । पहाडी जिल्लामा यो चलन कम भएतापनि तराईका जिल्लामा भने दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर रक्षाबन्धन मनाउने चलन रहेको छ ।

जनैपूर्णिमा अर्थात् रक्षाबन्धनका अवसरमा धनकुटालगायत देशभरका विभिन्न मठमन्दिर, धार्मिकस्थल, धाम साथै नदी कुण्डमा भक्तजनको भीड लागेको छ । निशान भगवती मन्दिर र मूलघाट स्थित विश्रान्ति मन्दिर परिसरलगायात मठ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति छ ।
जनैपूर्णिमा दिन क्वाँटी खाने चलन रहेको छ । विभिन्न ११ थरिका गेडागुडीलाई टुसा उमारी बनाइएको क्वाँटी पौष्टिक तथा स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।






तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

सन्तोष सुवेदी/संगालोखबर 













