
विराटनगर । रसुवामा बुधबार आएको भीषण बाढीका कारण मोरङका १४ जना नागरिक सम्पर्कविहीन भएका छन् । दुई जनाको उद्धार गरी उपचार तथा संरक्षणमा राखिएको छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र मोरङका अनुसार रोजगार, व्यापार तथा विभिन्न कामको सिलसिलामा रसुवा पुगेका मोरङका बासिन्दाहरू बाढीपछि सम्पर्कविहीन बनेका हुन् ।
बाढीका कारण त्रिशूली नदी धोबी खोला क्षेत्रबाट विराटनगर-७ का शिव शंकर गुप्ता र रसुवाबाट ३ वर्षका नातिसहित पुजा आचार्य नेपाल सम्पर्कविहीन भएका छन् ।
त्यसैगरी अपर त्रिशूली-१ जलविद्युत आयोजनाबाट रंगेली-६ का सुरज मण्डल, दोसाङ हाइड्रोपावरबाट पथरी शनिश्चरे-३ की रिचा निरौला र विराटनगरका सचिन गौतम सम्पर्कविहीन भएका छन् ।
टिमुरे अध्यागमन कार्यालयबाट विराटनगर-१ का दुर्गा प्रसाद पोखरेल र टिमुरे क्षेत्रबाट विराटनगर-७ का सोम प्रसाद कटेल सम्पर्कविहीन भएका डीईओसी मोरङले जनाएको छ ।
यस्तै, हाइड्रो कुकका रूपमा कार्यरत सुन्दरहरैंचाका सूर्यबहादुर कार्की, अटोमोबाइल्समा कार्यरत सुन्दरहरैंचा सलकपुरका भोजराज अधिकारी तथा रसुवा बजार क्षेत्रबाट लेटाङ नगरपालिका-६ लामिटारका मेघा चेम्जोङ, सोना चेम्जोङ, देविमाया तामाङ र पासाङ तामाङ सम्पर्कविहीन भएका हुन् ।
बाढी प्रभावित क्षेत्रमा परेका मोरङका ३८ वर्षीय गजेन्द्र थापालाई उद्धार गरी विदुरस्थित आर्मी क्याम्पमा ल्याइएको छ । साथै प्रभु बैंक टिमुरे शाखाका प्रबन्धक, विराटनगर निवासी रमनलाल श्रेष्ठको उद्धार गरी हाल टिचिङ अस्पतालमा उपचार भइरहेको डीईओसी मोरङले जनाएको छ ।

संगालोखबर 














