
धनकुटा । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि तेह्रथुमका एक पुरुष सम्पर्कविहीन भएका छन् । सामान लिन ट्रक लिएर रसुवा नाका पुगेका छथर गाउँपालिका-१ आङ्दिम कोराङका ३६ वर्षीय रामभक्त नेवार सम्पर्कविहीन भएका हुन् ।
ट्रक चालक नेवार बुधबार बिहान सामान लिन रसुवा नाका पुगेका थिए । उनकी भाउजू कुमारी नेवारका अनुसार रामभक्तले हिजो बिहान करिब ६ बजे घरमा फोन गरेर रसुवा नाकामा सामान लोड गर्न आएको बताएका थिए ।
‘सामान लिएर काठमाडौं जानुपर्ने भन्दै फोन सम्पर्क भएको केही समयपछि बाढीको समाचार आयो’, उनले भनिन्, ‘पुनः सम्पर्क गर्दा फोन लागेन । अहिलेसम्म सम्पर्क हुन सकेको छैन ।’
उनले बैशाखदेखि रसुवा-काठमाडौं ट्रक चलाउँदै आएका थिए । सम्पर्कविहीन भएका नेवारको खोजतलासका लागि परिवारले अपिल गरेको छ ।

सन्तोष सुवेदी/संगालोखबर 














