
धनकुटा । रसुवाको सीमा क्षेत्र रसुवागढी तथा भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
उक्त बाढीका कारण सम्पर्कविहीन भएका नागरिकको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले पहल सुरु गरेको छ ।
प्रशासनले आज सूचना जारी गर्दै धनकुटा जिल्लाबाट बाढी प्रभावित जिल्लाहरूमा व्यापार, रोजगार, भ्रमण वा अन्य कामको सिलसिलामा गई हाल आफन्तको सम्पर्कमा नरहेका व्यक्तिहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माद्वारा जारी सूचनामा घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाहरूको शीघ्र उद्धारको कामना गरिएको छ ।
सामाजिक सञ्जालमा उत्तेजना, डर र निराशा पैदा गर्ने क्षतविक्षत सामग्री सम्प्रेषण नगर्न र मानवीयता प्रकट गर्दै सहयोगको हात बढाउनसमेत प्रशासनले सबैमा अपिल गरेको छ ।


संगालोखबर 














