
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट अस्पतालले भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका घाइते नागरिकहरूको निःशुल्क उपचार गर्ने भएको छ ।
काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीमा परी घाइते भएकाहरूलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
विषम परिस्थितिमा घाइतेको उपचारमा सहयोग पुर्याउने उद्देश्यले भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा आवश्यक उपचार व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।
केएमसीले विभिन्न परिस्थितिमा अशक्त तथा घाइते बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ । आर्थिक अभाव वा विपद्का कारण उपचारमा समस्या परेका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले अस्पतालले यसअघिदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक कार्य गर्दै आएको हो ।
बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उपचार आवश्यक पर्ने घाइतेको संख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै केएमसी दुवाकोटले अस्पतालमा उपचारका लागि आउने बाढीपीडित घाइतेलाई सहज रूपमा सेवा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
अस्पतालले बाढी प्रभावित बिरामीलाई उपचारका लागि केएमसी ल्याउन आग्रह गरेको छ । साथै, घाइतेलाई अस्पतालसम्म पुर्याउन सचेत नागरिक, संघसंस्था तथा सहयोगी महानुभावहरूलाई सहजीकरण गरिदिन केएमसीले अनुरोधसमेत गरेको छ ।
अस्पतालका अनुसार बाढी प्रभावित घाइतेको उपचारमा औषधि तथा औषधिजन्य सामग्रीबाहेक अस्पतालमा उपलब्ध सम्पूर्ण उपचार सेवा निःशुल्क हुनेछ । यसले विपद्का कारण घाइते भएका नागरिकलाई तत्काल आवश्यक स्वास्थ्य उपचार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा अस्पतालको छ ।
केएमसीका प्रशासन प्रमुख नारायण प्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा बाढीबाट प्रभावित बिरामीलाई उपचारका लागि दुवाकोट अस्पतालमा ल्याई निःशुल्क स्वास्थ्य सेवा लिन आग्रह गरिएको छ ।
काठमाडौं मेडिकल कलेज नेपाली काँग्रेसका नेता डा. सुनील शर्माद्वारा सञ्चालित अस्पताल हो ।

संगालोखबर 














