संगालोखबर


विराटनगर । मोरङको ग्रामथान गाउँपालिका र जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । ग्रामथानका नागरिकलाई सहज, पहुँचयोग्य तथा सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

मंगलबार भएको सम्झौतामा जीवन विकास सामुदायिक अस्पतालका तर्फबाट प्रशासन प्रमुख अनिता कुमारी गच्छदार र ग्रामथान गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष नमो नारायण माझीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार ग्रामथान गाउँपालिकाका बासिन्दा, स्थानीय तहका कर्मचारी तथा निर्वाचित जनप्रतिनिधि र सम्झौतामा तोकिएका उनीहरूका परिवारका सदस्यले जीवन विकास सामुदायिक अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने छन् ।

अस्पतालमा उपलब्ध ओपीडी, आकस्मिक सेवा, बेड, ल्याब, रेडियोलोजी, फिजियोथेरापी, शल्यक्रिया, डेन्टल, डेन्टल ल्याब, सिटिस्क्यान तथा यमआरआई लगायतका विभिन्न स्वास्थ्य सेवामा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

सम्झौता अवधि भदौ ९ गतेदेखि लागू भएर एक वर्षसम्म रहनेछ । आवश्यकताअनुसार दुवै पक्षको आपसी सहमतिमा सम्झौता नवीकरण वा विस्तार गर्न सकिने व्यवस्था गरिएको छ ।

मोरङको कटहरी गाउँपालिका-२, हल्दीबारीमा रहेको जीवन विकास सामुदायिक अस्पताल २ सय शय्याको हो । अस्पतालमा विभिन्न विशेषज्ञ ओपीडी, आकस्मिक सेवा, आइपीडी, आईसीयू, एनआईसीयू, एचडीसीयू र सीसीयू लगायतका सेवा उपलब्ध छन् ।

साथै अत्याधुनिक अपरेशन थिएटरमार्फत विभिन्न प्रकारका शल्यक्रिया तथा अन्य विशेषज्ञ स्वास्थ्य सेवासमेत प्रदान हुँदै आएको छ । यस सहकार्यबाट कटहरी क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियतपूर्ण रूपमा प्राप्त हुनुका साथै स्वास्थ्य सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!