
विराटनगर । मोरङको दक्षिणी सीमावर्ती क्षेत्रबाट सुँगुरका पाठा भारततर्फ अवैध रूपमा तस्करी हुने गरेको पाइएको छ । धनपालथान गाउँपालिका-३ चेका खोलाबाट भारततर्फ तस्करी गर्न लागिएका ५१ वटा सुँगुरका पाठा प्रहरीले बरामद गरेपछि नयाँ रहस्य खुलेको हो ।
आज बिहान करिब ११ बजेतिर भारततर्फ लैजाँदै गरिएको अवस्थामा प्रहरीले सुँगुरका पाठा बरामद गरेको छ । प्रहरीका अनुसार ६ वटा साइकलमा प्लास्टिकका बोरामा राखेर भारततर्फ लैजाँदै गर्दा सुँगुरका पाठा बरामद गरिएको हो ।
प्रहरीलाई देखेपछि तस्करीमा संलग्न व्यक्तिले सुँगुरका पाठा र साइकल छाडेर भारततर्फ भागेका थिए । घटनास्थलबाट ५१ वटा सुँगुरका पाठा र ६ वटा साइकल बरामद गरेको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बरामद सुँगुरका पाठाको अनुमानित मूल्य १ लाख ५३ हजार रुपैयाँ हुन आउँछ ।

संगालोखबर 














