
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । त्यसअगाडि नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
काँग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको छ । गत साउन ९ गते एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।
काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।
कोशी प्रदेश सभाका ९२ सदस्य मध्ये एमालेका ४० र काँग्रेसका २९ सदस्य छन् । यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाका सभामुखसहित ५ र जसपाका १ सांसद छन् ।

संगालोखबर 















