संगालोखबर


पाँचथर । पाँचथरको याङवरक गाउँपालिका-१ च्याङथापुस्थित सिंहदेवी आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालकमाथि कुटपिट भएको छ । गृहकार्य नगरेको भन्दै शिक्षिका चन्द्रा राईले ८ वर्षीय बालक अविरल गुरुङलाई निर्घात कुटपिट गरेकी हुन् ।

कुटपिटका कारण बालकको खुट्टाको पछाडिको भागमा ठूला-ठूला नीलडाम बसेको सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमा देखिन्छ । अंग्रेजी शिक्षिका राईले गृहकार्य नगरेको भन्दै बुधबार बालकलाई भाटाले हानेको खुलेको छ ।

घटनाका विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको याङवरक-१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले जानकारी दिए । ‘सबै यथार्थ मलाई पनि थाहा छैन । मलाई जानकारी पनि आएको छैन’, उनले संगालोखबरसँग भने, ‘सामाजिक सञ्जालबाट नै मैले पनि थाहा पाएको हुँ ।’

बलमैत्री शिक्षा लागू भएको थाहा हुँदा हुँदै विद्यार्थीमाथि कुटपिट गर्नु गलत भएको उनले बताए  । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कुमार कर्णले कुटपिटका विषयमा प्रहरीमा कुनै जानकारी नआएको बताए ।

प्रधानाध्यापक कर्णमाया सुहाङले शिक्षिकाले बालकलाई बुधबार कुटपिट गरेको स्वीकार गरिन् । ‘कुटपिट भएको विषयमा सहमति भइसक्यो’, उनले संगालोखबरसँग भनिन्, ‘अस्ति एउटा विद्यार्थीको कानबाट आफैँ पिप आउने समस्या रहेछ । सरले सामान्य छोएपछि आरोप लाग्यो । हल्ला फैलाउने काम मात्र भएको छ ।’

बालकका अभिभावकसँग हिजै सहमति भएपनि अरु नै व्यक्तिले सामाजिक सञ्जालमा फोटो हालेको उनले बताइन् । सामाजिक सञ्जालमा फोटो लगाउने व्यक्तिले पनि अहिले उक्त तस्बिर हटाइसकेको उनको भनाइ छ ।

‘अहिले ती बालक पनि विद्यालयमै छन्’, उनले थपिन, ‘कुटपिट भएको ठाउँमा लगाउन मल्हम किनिदिएका छौँ ।’ अभिभावक र जनप्रतिनिधिबीच अब यस्तो घटना नहुने भनेर सहमति गरिएको प्रअ सुहाङले बताइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!