संगालोखबर


काठमाडौं । चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारको नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले निःशुल्क उपचार गरिदिने भएका छन् । काठमाडौं मेडिकल कलेजमा पर्वतको निःशुल्क उपचार सुरु भएको हो ।

उपचार त टाढाको कुरा, सुर्खेतसम्म पुर्याउने खर्चसमेत नभएको कालिकोटको एउटा विपन्न परिवारका लागि शर्माले उपचारको ढोका मात्र खोलेनन्, काठमाडौंसम्म ल्याउने खर्चदेखि अस्पतालमा खाने र उपचारको सम्पूर्ण जिम्मेवारी लिएका हुन् ।

कालिकोटको खाँडाचक्र नगरपालिका-२ का पर्वत पाइल्सको समस्याबाट चार वर्षदेखि पीडित छन् । जिल्ला अस्पतालमा उपचार गराउँदा अवस्था गम्भीर रहेको र क्यान्सरको आशंकासमेत गरिएको भन्दै थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजान चिकित्सकले सुझाव दिए ।

तर, अपांगता भएका बुबा सेरे दमाइ र गिट्टी कुटेर परिवार पाल्ने आमा पार्वतीसँग छोरालाई सुर्खेतसम्म लैजाने खर्च समेत थिएन ।

यही अवस्थाको जानकारी शर्मालाई उनका मीत तथा बाल्यकालदेखिका साथी प्रेम शाहीले गराएका थिए । प्रेमबाट पर्वतको अवस्था थाहा पाएपछि शर्माले आफैं सेरे र पार्वतीसँग भिडियो कलमा कुरा गरे ।

उनले परिवारको आर्थिक अवस्था, छोराको रोग, बस्ने घरदेखि खाने अवस्थासम्म सबै जानकारी लिए । कुराकानीकै क्रममा शर्माले पानी चुहिने घरसमेत भिडियोमै हेरे ।

पर्वतलाई तत्काल उपचार आवश्यक थियो । चार वर्षदेखि बिरामी हुँदा पनि आर्थिक अभावका कारण उपचार हुन नसकेको थाहा पाएपछि शर्माले अब ढिला नगरी काठमाडौं आउन आग्रह गरे ।

‘उपचार निःशुल्क हुन्छ, खाना पनि अस्पतालमै व्यवस्था हुन्छ’, शर्माले परिवारलाई भने । काठमाडौं मेडिकल कलेजमा भर्ना भएदेखि उपचार पूरा नहुँदासम्म आवश्यक उपचार निःशुल्क गर्ने र पर्वतसँगै उनका बाबुआमालाई बिहान, दिउँसो र बेलुकाको खाना उपलब्ध गराउने व्यवस्था मिलाउने उनले बताए ।

क्यान्सर पुष्टि भए थप उपचारका लागि विराटनगर पठाउनुपर्ने अवस्था आए त्यहाँ बस्ने व्यवस्थासमेत मिलाइदिने आश्वासन दिए । तर परिवारसँग काठमाडौं आउने भाडासमेत थिएन ।

पार्वतीले त्यो कुरा बताएपछि शर्माले यात्राखर्चसमेत आफैं व्यहोर्ने बताए । अर्को सानो छोरा कहाँ छाड्ने भन्ने समस्या पनि रहेको थाहा पाएपछि आवश्यक व्यवस्थासमेत मिलाइदिने शर्माले बताए ।

त्यसपछि सेरे र पार्वती आफ्ना दुई छोरासहित पर्वतलाई लिएर मान्मबाट सुर्खेत हुँदै काठमाडौं आए । दुई दिनको कठिन यात्रापछि काठमाडौं आइपुग्नेबित्तिकै शर्माको निर्देशनमा काठमाडौं मेडिकल कलेजको एम्बुलेन्स उनीहरूलाई लिन पुग्यो ।

पहिलोपटक काठमाडौं आएका सेरे र पार्वतीलाई भेट्न शर्मा आफैं पुगे । यात्रामा कुनै समस्या भयो कि भएन भनेर सोधे, परिवारको अवस्था बुझे र पर्वतलाई आफैं अस्पताल लिएर गए । त्यसपछि काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा पर्वतलाई भर्ना गरियो ।

शर्माले चिकित्सकहरूलाई आवश्यक सम्पूर्ण जाँच तथा उपचार तत्काल सुरु गर्न निर्देशन दिए । उपचार सुरु भएपछि उनले परिवारलाई पर्वतको उपचार पूरा गरेर टुंगोमा पुर्याउने भरोसा दिलाए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!