सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको हिले र पाख्रीबास बजारका ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ । खाना पकाउने ग्यास अभावको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले संयुक्त रूपमा डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेका हुन् ।

बजारमा ग्यासको अभाव र बढी मूल्यमा बिक्री गरेको गुनासो बढेपछि अनुगमन गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए । अनुगमनका क्रममा कतिपय डिलरमा आवश्यकता भन्दा कम ग्यास आएका कारण पनि समस्या भएको पाइएको छ ।

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर नबेच्न समेत अनुगमन टोलीले बिक्रेताहरूलाई आग्रह गर्दै ग्यास आएपछि प्रशासनलाई खबर गरेर रेकर्ड बुझाउन पनि निर्देशन दिएको छ ।

कम्पनीले पठाए अनुसार ग्यास बिक्री गरिरहेको पाख्रीबासका ग्यास बिक्रेता जीवन श्रेष्ठले बताए । कम ग्यास आएर सबैलाई पुर्याउन नसक्दा अभाव सिर्जना भएको बिक्रेताले बताएका छन् ।

डिलरबाट मात्रै ग्यास बिक्री गर्न र एउटा परिवारलाई एक पटकमा एउटा मात्र सिलिन्डर उपलब्ध गराउन डिलरलाई निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।

डिलरहरूबाट सहज रूपमा ग्यास नपाउँदा किराना तथा खुद्रा पसलबाट महँगो मूल्यमा ग्यास किन्न बाध्य भएको उपभोक्ताहरूले गुनासो गर्दै आएका छन् ।

ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन प्रशासनले निर्देशन दिएको छ । अनुगमनमा धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेसहित जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी हेमन्त भण्डारी लगायत सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!