
विराटनगर । कोशी प्रदेश सरकारले पूर्णता पाएको छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीन बुँदे सहमति बमोजिम नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएको हो ।
नेकपाले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री पठाएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । यस्तै नेकपाबाटै राज्यमन्त्रीमा नियुक्त एक जनालाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ खुवाएका छन् ।
नेकपाबाट गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून, गीता तिम्सिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नेकपाले सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा सरकारमा पठाएको छ । सरकार विस्तारसँगै नेकपा एमालेबाट मन्त्री बनेका केही सदस्यहरूको जिम्मेवारीमा हेरफेर गरिएको छ ।
यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
उमाकान्त गौतमलाई आन्तरिक मामिलाबाट स्वास्थ्य राज्यमन्त्री बनाइएको छ । एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत रहेको छ ।

संगालोखबर 













