संगालोखबर


विराटनगर । जलन (बर्न) का बिरामीको प्राथमिक उपचार तथा आपतकालीन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा बेसिक बर्न केयर  तालिम सुरु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना सुरु भएको तालिममा कोशी प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू सहभागि छन् । तालिममा वरिष्ठ प्लास्टिक तथा पुनर्निर्माण शल्यचिकित्सक प्रा. डा. शंकरमान राईको समुहले प्रशिक्षण दिइरहेको छ ।

राईले जलनको अवस्था पहिचान, प्राथमिक उपचार, बिरामीको प्रारम्भिक स्थिरीकरण, घाउको व्यवस्थापन, संक्रमणको जोखिम न्यूनीकरण तथा गम्भीर बिरामीलाई समयमै विशेषज्ञ सेवामा रेफर गर्नेसम्बन्धी विषयमा प्रशिक्षण दिइरहेका छन् ।

जलनका बिरामीमा सुरुवाती उपचार निकै महत्वपूर्ण हुने भएकाले स्वास्थ्यकर्मीलाई सही समयमा सही उपचार प्रक्रिया अपनाउन सक्षम बनाउने तालिमको मुख्य उद्देश्य छ ।

आगलागी, तातो पानी, विद्युत तथा अन्य दुर्घटनाबाट हुने जलनका घटनामा तत्काल गरिने प्राथमिक उपचारबारे समेत सहभागीलाई जानकारी दिइँदैछ ।

गम्भीर जलन भएका बिरामीमा श्वासप्रश्वासमा समस्या, शरीरमा पानीको कमी तथा संक्रमणजस्ता जटिलता आउन सक्ने भएकाले प्रारम्भिक अवस्थामै जोखिम पहिचान गरी आवश्यक उपचार र रेफर गर्न स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण हुन्छ ।

तालिमले कोशी प्रदेशका स्वास्थ्य संस्थामा जलनका बिरामीको प्रारम्भिक उपचार क्षमता अभिवृद्धि गर्नुका साथै समयमै विशेषज्ञ उपचारमा पहुँच पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!